eSudur Khabar

कीर्तीमानी क्रिकेटर अञ्जली चन्द सम्मानित

label समाचार प्रकाशक query_builder December, 10 2019

बैतडी, मंसिर -२४ ।
किर्तीमानी क्रिकेट खेलाडी अञ्जली चन्द गृह जिल्ला बैतडीमा सम्मानित भएकी छन् । उनलाई बैतडी जिल्ला क्रिकेट संघले नगदसहित सम्मान गरेको हो । चन्दलाई मंगलवार गोठलापानीमा नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले जानकारी दिनुभयो ।
बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोट घर भएकी अञ्जलीले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)को क्रिकेट प्रतियोगितामा मालदिप्सबिरुद्ध २ दशमलव १ ओभर बलिंग गर्दै कुनै रन नखर्चि ६ विकेट हात पारेकी थिइन् । उक्त किर्तीमान हालसम्म टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विश्वका कुनै पनि खेलाडीले बनाएको छैन् ।


सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सुदूरपश्चिम प्रदेशसचिव तेजप्रकाश भट्ट, साविकको क्षेत्र नं ६ बैतडीका पूर्वअध्यक्ष बिनोदबहादुर चन्द लगायतको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रममा बोल्नुहुदैं क्यान सुदूरपश्चिम प्रदेश सचिव भट्टले अञ्जलीले बैतडीको मात्रै नभएर देशकै नाम विश्वमा चिनाउन सफल भएकी बताउनुभयो । क्रिकेटको उर्बरभूमी बैतडीले क्रिकेटमा थुप्रै खेलाडी जन्माएको स्मरण गराउदैं भट्टले प्रतिभावान खेलाडीलाई क्रिकेट संघले पनि उचित स्थान दिने बताउनुभयो ।
जिल्लामा खेलमैदानको अभावका बिच अञ्जलीजस्ता खेलाडीले बैतडीको शान बढाएको साविकको क्षेत्र नं ६ बैतडीका पूर्वअध्यक्ष बिनोदबहादुर चन्दले बताउनुभयो । अञ्जलीजस्तै खेलाडी उत्पादनको लागी जिल्ला क्रिकेट संघले हरेक बर्ष जिल्लास्तरिय प्रतियोगिता सञ्चालन गर्दै आएको क्रिकेट संघ बैतडीका अध्यक्ष लाल बहादुर चन्दले बताउनुभयो ।
सम्मान कार्यक्रममा बोल्दैैं अञ्जली चन्दले आफूले राखेको किर्तीमान जिल्लाको मात्रै नभएर मुलुककै लागी भएकोले आफूले सदैंब देशको नाम विश्वमा चिनाउन अझै प्रयास जारी राख्ने बताउनुभयो ।

Comments
Loading...