eSudur Khabar

के साच्चीकै फल मिल्छ श्री स्वस्थानीको व्रत बस्नाले ? यस्ता छ धार्मिक र आध्यात्मिक किम्बदन्ती

label समाचार प्रकाशक query_builder January, 11 2020

स्कन्द पुराणको हिमालय खण्डमा यसको महिमाबारे वर्णन गरिएको छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

“स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उनले भने।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ। रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ।

यस पूजामा वालुवाको शिवलिंग बनाइ अर्चना गरिने भएको हुँदा विशेष महत्व छ । यो व्रत बस्नाले तत्काल फल पाइने विश्वास गरिन्छ । नियम र विधिपूर्वक, मन वचन र कर्मले स्वस्थानीको व्रत बस्नुपर्छ ।

अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।
हिन्दू शास्त्र अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो ।

माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाइन् । सोही अनुरुप अहिलेसम्म गुरु श्री श्री श्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्तररुपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिदै आएको पाइन्छ ।

भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मर्त्यलोकमा सप्तर्षी एवं पाताललोकमा अश्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो ।

किंवदन्ती एवं पुराणको अनुशरण गर्दै अहिलेसम्म पनि स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आइरहेको छ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ।

व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ। गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी शुक्रबारबाट आरम्भ हुँदैछ ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् ।यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ ।व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ ।
यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ ।श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शाली नदी र श्लेशमान्तक वन नेपालमा छ । कथामा उल्लेखित हुने विषय र घटना नेपाल कै सेरोफेरोमा भएको स्कन्द पुराणमा उल्लेख छ । साथै पावर्तीको पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको बताइएको छ ।

प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको सुरुवात हुन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ ।यसरी पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादीको सात्विक पदार्थहरू) भोजन ग्रहण गर्नुपर्दछ ।सोहि दिन श्रीस्वस्थानी माताको स्थापना/पूजा स्थान सरसफाई गरी लिपपोत गर्नु पर्दछ । व्रतकाल भरी भूमिमा शयन गर्नु पर्दछ ।दिनको एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत समापन नहुन्जेल पुरुष ब्रतालुले रौं काट्न हुदैन ।

यस एक महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता छ ।साथै महिनाभरि अनिवार्य ब्रह्मचर्यको पालन गर्नुपर्दछ । शुद्घ वा धोएका वस्त्रहरु पहिरीने र शौच गए पछी हरेक पटक पवित्र जल छर्केर शुद्ध हुनुपर्छ । व्रतको पहिलो दिन अर्थात पौष शुक्ल पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरमा तर शौचालय नजाडिएको अलग्गै स्थानमा) गरी शुद्घ वस्त्र पहिरिएर कुशको आसनमा नभए ऊनको त्यो पनि नभए कम्मलको आसनमा बसेर पूजा गर्नुपर्दछ ।

त्यसपछि तामाको लोटामा पञ्चगब्य अर्थात गोबर, गोमुत्र, दुध, दहि र घ्यूका साथै तिल, सरस्यु र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाएर ‘अपवित्रः पवित्रो वा’ भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ ।त्यसपछी त्यसै अभिशेक बाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानी नजानी गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख शान्ति प्राप्त भई अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गर्नुपर्दछ ।

त्यसपछी आफूले विगतमा खाएका अभक्ष पदार्थको प्रायश्चित वा शुद्धिका लागी गोदान (सके गाई नसके गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान) गर्नु पर्दछ । गोदानपछि दिप, गणेश र कलशको पूजा गर्नु पर्दछ ।दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्रीस्वस्थानी माताको सुनको प्रतिमा (नसके यथासक्य भेटि राखि) स्थापना गर्नु पर्दछ ।अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ ।त्यसपछि प्रत्येक मध्यान्नमा श्रीस्वस्थानी माता र श्री महादेवको आरधना गर्नुपर्दछ ।

दिप, गणेश र कलश को पूजा गर्नुका साथै अष्टमात्रिका र श्रीस्वस्थानी माताको पूजा आचमन, अर्घ, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य, सेलरोटी, हलुवा इत्यादी चढाउनु पर्दछ ।पूजा सकेपछि फूललिई हात जोडेर एकचित्त एक भक्तिका साथ श्रीस्वस्थानी माताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ ःसुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् । खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्प झैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग, चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।पूजापछि आफुले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी मातालाई अघ्र्य दिनु पर्दछ । त्यसपछि साँझमा श्रीस्वस्थानी माताको कथा बाचन गरी परीवारजन, आफन्त, छिमेकी लगायतलाई सुन्ने वा सुनाउनु पर्दछ ।कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गरी सुन्नु पर्दछ ।

आफुले कथा वाचन गर्न नसके ब्राह्मण वा परिवारका सदस्य वा अन्य ब्यक्तिबाट वाचन गराउनु पर्दछ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन ।कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ ।यसरी एक महिनासम्म नित्य पुजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नुपर्दछ । सो दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नुपर्दछ ।

श्रीस्वस्थानी मातासंगै महादेवको पनि अराधना गर्नुपर्ने हुन्छ । समापन पूजामा १०८ सेलरोटी, १०८ टुक्रा सुपारी, १०८ बेली पुष्प, १०८ पान, १०८ जनै, १०८ अक्षता, भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ वटा चढाउनु पर्दछ ।पूजा पछी १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रत प्रतिष्ठा पछि ‘हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो’ भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८/८ वटा प्रसाद झिकि सगुन सहित आफ्ना श्रीमान, श्रीमान नभए छोरा, छोरा नभए मित छोरा र मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदीमा बगाई दिनुपर्दछ ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार (पुस १९) गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए ।

समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै यो वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरेको छ । मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

मेलामा राखिएका विभिन्न पसलबाट पसलले जथाभावी रूपमा पैसा लिने गरेकाले समितिले यस वर्ष समिति तथा उपसमिति बनाएर बजार व्यवस्थापनको अनुगमन अनुगमन गर्ने भएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुले पनि सुरक्षाका लागि प्रहरी ‘हेल्प डेस्क’को स्थापना गरेको तथा ट्राफिकको उचित व्यवस्थापन गरेको जानकारी दिएको छ । साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले सुरक्षाका लागि मेलामा ७० जना युनिर्फम तथा अन्य सादा पोशाकमा प्रहरी टोली परिचालन गरिएको बताए । तीर्थयात्रीको सुरक्षालाई थप मजबुत बनाउनका सिसीटिभी फुटेजबाट पनि अवलोकन गरिने पन्थीले बताए ।

यस्तो छ स्वस्थानीको महिमा

राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

एकतीस अध्याय रहेको यस श्रीस्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणी बहालभित्र पनि छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय पवन श्रेष्ठले बताउनुभयो । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।

“मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतबन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो”, श्रेष्ठले भन्नुभयो । मेला मूल आयोजक समितिका अनुसार यस वर्ष भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनुका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्यवस्थित बनाउने तयारी भएको छ ।

Comments
Loading...