eSudur Khabar

कक्षा ८ का विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गरिदै

label झलक पाली query_builder February, 15 2020

झलक पाली

फाल्गुन ३, डडेल्धुरा

देशभरका कक्षा ८ का विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षण गरिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले परामर्शदाता संस्था समुन्नत नेपालमार्फत विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गर्न लागेको हो ।
मनाङ जिल्ला बाहेक देशभरका ७६ जिल्लाका नमुना छनौट भएका विद्यालयहरुको प्रतिनिधित्व हुने गरी कक्षा ८ को विज्ञान, गणित, नेपाली र अङ्ग्रेजी विषयको यहि फाल्गुन ११ देखि २० गतेसम्म परीक्षण गरिने छ ।
जसका लागि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका परीक्षण संचालकहरुका लागि शनिबार डडेल्धुराको होटेल हिमालयनमा एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय परीक्षणबाट आएका नतिजाहरुलाई नीति निर्माण, पाठ्यक्रम, योजना र शिक्षणका तौरतरिकाहरुको सुधारमार्फत विद्यार्थीको सिकाई उपलब्धिमा सुधार ल्याउन परीक्षण गर्न लागिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शाखा अधिकृत नारायणप्रसाद निरौलाले बताए ।


अभिमुखीकरणमा सहभागी परीक्षण संचालकहरुलाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्राविधिक अधिकृत लवदेव भट्ट, समुन्नत नेपालका जयराम कुइकेलले विस्तृत प्रशिक्षण दिएका छन् ।
परीक्षण संचालकहरुलाई आवश्यक पर्ने प्रश्नपत्र, विद्यालको पत्र, परिचय पत्र लगाएतका सामाग्री प्रदान गरि फिल्डमा खटाइएको राष्ट्रिय परीक्षणका लागि सुदूरपश्चिम प्रदेश संयोजक पुस्पराज जोशीले बताए ।
वि.सं. २०६६ सालमा अस्थायी परियोजनाका रूपमा शुरु भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्र २०७५ सालदेखि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्थायी संरचनाका रूपमा रहेको छ ।
केन्द्रले कक्षा ८ को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण यो वर्ष चौथो पटक परीक्षण गरिरहेको छ ।

जसमा देशभरका नमुना छनौटमा परेका १ हजार ८ सय विद्यालयका २८ हजार विद्यार्थी सहभागी हुने जनाइएको छ ।

Comments
Loading...