सुदूरखबर डटकम

राष्ट्रपति भण्डारीकाे चीन र अमेरिका भ्रमण तय

label सुदूर खबर संवाददाता query_builder February, 04 2019

काठमाडाैं, माघ २१ । दुई  महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन्। सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटघाट र वार्ता गर्ने छिन्। राष्ट्रपति भण्डारीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृतका लागि छिट्टै परराष्ट्रले प्रस्ताव गर्ने स्रोतले बतायो। परराष्ट्र मन्त्रालयले भ्रमणलाई दुईपक्षीय बनाउने पहल थालेको पनि अधिकारीहरूले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएकी छन्। उक्त सत्रमा महिला नेतृत्वको तर्फबाट उनले न्युयोर्कमा सम्बोधन गर्ने छिन्।

सरकारले राष्ट्रपतिको भ्रमणलाई अमेरिकासँग दुईपक्षीय भ्रमण बनाउन पहल गरिरहेको छ। उनी फागुन २६ मा पाँच दिनका लागि त्यसतर्फ जाने तयारी मन्त्रालयले गरिरहेको छ। उनको सम्बोधन फागुन २८ मा हुने शक्तिमा रहेका महिलाहरूको सम्मेलनमा हुनेछ।

राष्ट्रसंघीय ७३ औं महासभाकी अध्यक्ष मारिया फेमन्डा स्पिनोसा ग्रेसको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। इक्वेडरकी ग्रेस ७३ औं महासभाको सभापति भएदेखि नै महिला सशक्तिकरणसम्बन्धी विशेष सम्मेलन भन्दै विश्वभरका उच्चतहका रहेका महिला नेतृत्वलाई निम्त्याउने बताएअनुरूप नै भण्डारीलाई पनि निमन्त्रणा गरेकी हुन्। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।