सुदूरखबर डटकम

शिक्षणसँगै आलु खेतीमा रमाएका प्रकाश सर, सिजनमै कमाउँछन् ६ लाख

label प्रकाश पार्की query_builder June, 04 2019

डडेल्धुरा, जेठ २१ । देशमा रोजगारी पाइएन भनेर आजभोलि धेरै युवा विदेशतिर उड्छन्। स्वदेशको जल, जमिन छोडेर गाउँगाउँका युवा खाडी मुलुक तथा भारतीय सहरमा ऊर्जा खर्चिरहेका छन्। एक गाँस खान, एकसरो लगाउन र घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौँ युवा विदेशी भूमिमा पुग्छन्।

देशमै रोजगारी पाएपनि अन्य काम गर्दैनन्। कुनै सरकारी जागीर पाएपछि त्यहीँ मात्रै गर्दछन्। तर, हाम्रो समाजमा केही यस्ता व्यक्ति पनि छन् जो सरकारी जागीरसँग अन्य काममा पनि आफ्नो उर्जा खर्चिरहेका छन्। यसैको एक उदाहरण हुन्, अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर। पेशाले उनी सरकारी शिक्षक हुन्।

डडेल्धुरा सदमुकामबाट ५ किलामिटर दूरीमा अमरगढी नगरपालिका–१ सुन्दर आलुबारी रहेको स्थान तडिपाटा। उनले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूर असिग्राम मावि भातकाँडा हो। उनी सो विद्यालयमा गणीत र विज्ञान विषय अध्यापन गराउँछन्। शिक्षण पेशामा आवद्ध भएको उनलाई २२ वर्ष पुग्यो। जसमा ७ वर्ष करार र १५ वर्ष स्थायी।

 

शिक्षक भनेपछि बिहान १० बजेदेखि ४ बजे विद्यलायमा जाने, अध्ययपन गराउने अन्य समयमा कुनै राजनितीक दलको चिया पसलमा गुनगान गाउने, राजनीतिक दलका भातृसंगठनका कार्यक्रममा धाउने, नभए टिउसन कक्षा दिएर साँझ बिहान गरि दिन बिताउने, वा घरमा भोलि पढाउने विषयको पूर्व तयारी गर्ने तर शिक्षक ऐरको दैनिकी फरक छ।

उनी बिहान ६ बजेबाट ९ बजे (३ घण्टा) र साँझ ५ देखि करिब ८ सम्म (३ घण्टा) मातृभूमिको माटोमा रमाउँछन्। ३ महिना आलुसंग रमाउँछन्, ३ महिना काउलीले मनोरञ्जन दिन्छ, अन्य समय घर वरपरका बोट विरुवा, गाई भौंसी, माछाहरुको हेरचाहमा बिताउँछन्।

२० वर्षदेखि आलु खेती रमाउँदै
प्रकश सरलाई आलु खेती सुरु गरेको २० वर्ष भयो। १३ रोपनी जमीनमा उनले आलु खेती गरिरहेका छन्। विगतमा मकै बालीमा सीमित तडिपाटा अहिले नगदेबालीमा धेरै अगाडि पुगेको छ। आलुको सुपरजोन नै घोषणा भएको छ। त्यस क्षेत्रलाई, अधिंकाशका खेतबारी यो समयमा हरियाली छ। आलुको हरिया पातहरुले।

‘यहाँ सुरुसुरुमा मकै मात्रै लगाउँथ्यौं। हामी मकैमा मात्रै सीमित थियौं।’ उनले भने,‘पछि विस्तारै बझ्दै जाँदा आलु खेतीबाट राम्रो आम्दानी हने थाहा पाएपछि अहिले यहाँका सबैले आलु खेती मात्रै गर्छन्।’

धेरै स्थानमा सिँचाइको सुविधा छैन भन्दै काम गर्ने छोडेका उदाहरण छन्। इच्छाया शक्ति भए सबै हुन्छ भने जस्तै ऐरले खेती भन्दा तलको खोलाबाट मोटरको प्रयोग गरी बारीमा पानी तानेका छन्।

सुरुमा आलु खेती गर्दा केही समस्याहरु आफूले भोग्नु परेको उनले सुनाए। ‘मैले १३ रोपनीमा आलु खेती गर्ने गरेको छु। सुरुमा गाइबस्तुहरु पाल्नुपर्ने थियो, जोत्न कठिनाइ पनि थियो। उनले भने,‘अहिले यान्त्रीकरणको युग आइसकेपछि आलु सुपरजोनबाट ५० प्रतिशत अनुदानमा मेशिनहरु पनि उपलब्ध भएको छ। त्यसले जोत्ने कामहरुलागयत महिलाहरुले गर्ने काममा पनि सहजता ल्याएको छ।’

व्यक्त गर्दै प्रकाश सरले भने अघि भने, ‘दुई जना नै काफी छ, अहिले यन्त्रीकरणको युग आइसक्यो खेत जोत्न गुरु चाहिँदैन्। हाते ट्क्याटर छ। त्यसले अहिले सजिलो भएको छ।’

म्याडमको पनि साथ!
उनको ६ जनाको परिवार छ। आलु खेतीमा घरपरिवारका अन्य सदस्यहरुले पनि साथ दिएका छन् उनलाई। ‘३ घण्टा बिहान र ३ घण्टा साँझ गरेर हामी बारिमा काम गछौं।’ उनले भने, ‘आलु खेती गर्दा मलाई यो म्याडमले पनि सघाउनुहुन्छ, मिलेर काम गर्छौं।’

‘बिहान बेलुका ‘फिजिकल’ पनि हुन्छ। काम पनि हुन्छ। मलाई एकदमै आरामदायी लागेको छ।’ उनले थपे।

एक सिर्जनमा ६ लाख कमाइ
उनी अहिले एक सिजनमा सदर १२ देखि १५ टन उत्पादन आलु उत्पालन गर्छन्। आलु राम्रो उत्पादन भएको समयमा एक सिर्जनमा ६ लाख र कम उत्पादन भएको वर्षमा ३ लाख आम्दानी गर्छन् उनी।

बिक्री वितरणमा पनि केही समस्या नभएको उनको भनाइ छ। बिउ आलु उत्पादन गरेको वर्ष नजिकैको उग्रतारा शितभण्डारमा राख्छन् उनी। अनी तराईका जिल्ला कैलाली कञ्चनपुर र पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, डोटीका विभिन्न स्थानीय तहले सजिलै घरैबाट खरिद गरेर लैजान्छ।

उनको यो कार्यमा थप बल तथा प्रात्सान स्वरुप प्रधानमन्त्री आधुनिकीकारण प्रयोजना, प्रयोजना कार्यान्वय एकाइ आलु सुपर जोन डडेल्धुराले अनुदान र बेला बेलामा प्राविधिक सहयोग गदै आएको छ। सहयोग भएपछि आलु खेतीको दायरा फराकिलो भएको उनले बताए।

अहिले खायन आलु (खानका लागी लगाएको आलु) मात्र हैन। आलुको बिउ पनि उत्पादन गर्न थालेका छन्। खायन आलुको मूल्य करिब २५ देखि ३० हो भने बिउ आलुको मूल्य ७० देखि ८० हो। ‘आलु मेरो जीवन नै हो व्यावसायीक आलु खेतीमा मुनाफा त छँदै छ आन्द पनि मलाई यही छ। घरपरिवारका सदस्यले सगाउँछन्। सकिन भने केही सयमका लागि ज्यालामा श्रमिक पनि राख्छु।’ उनले सुनाए।

आलु खेतीबाटै छोराछोरी अध्ययनदेखि घर निर्माणसम्म
ब्यवसायीक खेतीबाट उनले २० वर्षमा १४ रुपनी जमीन खरिद गरेका छन्। साथै उनले करिब १ करोडको लगानीमा पक्की घर समेत बनाएका छन्।

‘एक छोरालाई काठमाडौंमा ‘बायोलोजी’ पढाउँदैछु। एक छोरी अनमी बढाएँ।’ उनले भने, ‘एक छोरी कृषि प्राविधिक पास गरेकी छन् भने एक छोरीको बिहे गरिसकेको छु।’

विदेशिने युवाहरुलाई यस्तो छ प्रकाश सरको सुझाव
युवाहरुले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनको ठम्याइ छ। देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवाहरु विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ।

विदेशीने युवाहरुलाई उनले आफ्नै देशमा काम गर्न सुझाव दिए। ‘युवाहरुले आफ्नै देशमा केही न केही व्यापार व्यवसाय गर्नु पर्दछ।’ प्रकाश सरले भने,‘यही नेपालकै भूमिमा पसिना बगाऔँ।’ विदेश जानु हुँदैन। यहीँ लाखौं काउन सकिन्छ।’

विदेशी भूमिमा घण्टौं पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिने उनले बताए। विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि वा अन्य व्यवसाय गरेर मनग्य आम्दानी हुने भएकाले स्वदेशमै केही गर्न युवाहरुलाई उनले सुझाए।

तपाईंको प्रतिक्रिया दिनुस्