सुदूरखबर डटकम

बझाङ जिप दुर्घटनाका मृतकको सामूहिक अन्त्यष्टि (फोटोफिचर)

label डीबी विष्ट query_builder June, 19 2019

बझाङ, असार ४  । बझाङमा हालसम्मकै सबैभन्दा ठूलो जिप दुर्घटनामा परि मृत्यु भएका १० जनाको बुधबार सामूहिक अन्त्यष्टि गरिएको छ ।

दुर्घटनामा परेका जिप मालिक र मृतक परिवारहरुको क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तहरुले परम्परागत अनुसार दाहसंस्कार गरेका हुन् ।

जिल्ला अस्पताल सिमखेतबाट मृतक दश जनाको शव यात्रामा सदरमुकामबासी, मृतकका आफन्त र शुभचिन्तकहरुको शव यात्रामा ठूलो भीडभाड थियो । दश जनाको लामबद्ध शब यात्रामा आफन्त र अन्य मानिसहरुको रुवाबासी समेत चलेको थियो ।

जिप दुर्घटनामा मृत्यु भएका एकै परिवारका बुवा कलक खड्का, आमा जुनधारा खड्कालाई छोरा सन्देश खड्काले दागबत्ती दिएका थिए ।

५० वर्षीया घौलीदेवि खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमान् भारतबाट पुगेर दागबत्ती दिएका थिए । साथै मृतक जुना खड्कालाई पनि सोही मसानघाटमा उनका छोराले दागबत्ती दिएका थिए । कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाँउमा मृतक २ जना गरि नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर मसानघाँटमा सामूहिक अन्त्यष्टि गरिएको छ ।

रनाडा गाउँका मृतक लक्ष्मी द्धाल र भक्त द्धालको पनि आफन्तहरुले दागबत्ती दिएर दाहसंस्कार गरेका थिय । नौ जनाको घौलाबगर मसानघाँटमा अन्त्यष्टि गरेको थियो भने जिपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँको मसानघाँट कपडेमा अन्त्यष्टि गरिएको थियो । शव यात्रादेखि अन्त्यष्टिसम्म एक हजारभन्दा बढी मानिसहरुको सहभागिता थियो ।

मृतकहरुको दाहसंस्कार गर्ने स्थल सदरमुकाम चैनपुरको पारि पट्टी नजिकै भएकाले जनप्रतिनिधीहरु, पार्टीका नेताहरु, राष्ट्रसेवक कर्मचारीहरु समेत सहभागी थिए ।

यो घटनाले जिल्ला नै शोकाकुल भएपछि मष्टा गाउँपालिकाले बुधबार औपचारिक रुपमा गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ ।

मृतक परिवारको क्षतिपूर्तिका लागि जिप धनीले मृतकका परिवारलाई तीन–तीन लाख दिने सहमति भएको छ । जिप दुर्घटनामा परि घाइते भएका पाँच जनाहरुको स्वास्थ्यमा सुधार हुँदै गएको घाइतेका आफन्तहरुले जानकारी दिएका छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्