सुदूरखबर डटकम

दिपायल सिलगढीले आ. व. २०७६/७७ लाई पानी वर्षका रुपमा अगाडी बढाउने

label झलक पाली query_builder June, 25 2019

डोटी, असार १० । डोटीको दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ लाई पानी वर्षका रुपमा अगाडी बढाउने भएको छ ।

 मंगलबार पाँचौं नगरसभालाई सम्वोधन गर्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले खानेपानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले आगामी आर्थिक वर्षलाई पानी वर्षका रुपमा अगाडी बढाउन लागेको बताईन् ।

नगरभित्र खानेपानीको समस्यालाई समाधान गर्न अन्य पूर्वाधार विकासका कामभन्दा खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको नगर प्रमूख मलासीले बताईन् ।


जस अन्तरगत वडा नं. १ को तिखा, बाँफी, कैलडा लगाएतका गाउँहरु, वडा नं. २ र ३ को एअरपोर्ट आसपासको बस्ती, वडा नं. ४ को पिपल्ला बजार आसपासमा र वडा नं. ८ को सेटी गाउँमा घर–घरमा खानेपानी धारा पुर्याउने नगरपालिकाको लक्ष्य छ ।


सेती नदीबाट पानी तानेर फिल्टर ट्यांकीमा जम्मा गरी वितरण गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिकाबाट झण्डै ४ करोड जति खर्च गर्ने योजना गरिरहेको दिपायल सिलगढी नगरपालिकाका उप–प्रमूख शिवराज खड्काले बताए ।
खानेपानीका लागि आवश्यक थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने नगरपालिकाले सोच बनाएको छ ।
यतिञ्जेल नगरपालिकाका विभिन्न गाउँहरुमा खानेपानीका मुहानै नहुँदा घण्टौं टाढाबाट बोक्नुपर्ने बाध्यता र सेती नदि आसपासका बासिन्दाले नदीको धमीलो पानी प्रयोग गर्दै आएका छन् ।


यद्यपी आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, घर नक्शा पास, वातावरण तथा विपद व्यवस्थापन, सँस्थागत विकास तथा सेवा प्रवाह र सुशासन लगाएतका अन्य विविध नीति लिएर अगाडी बढ्ने योजना बनाएको छ ।


जसका लागि आर्थिक वर्ष २०७६÷७७ का लागि अनुमानित ४३ करोड ७ लाख २१ हजारको बजेट नगरपालिकाले प्रस्तुत गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्