सुदूरखबर डटकम

डडेल्धुराको दुमडा गाउँमा पहिलोपटक रोपाइँ

label सुदूर खबर संवाददाता query_builder July, 11 2019

डडेल्धुरा, असार २६ । डडेल्धुराको दुमडा गाउँमा पहिलो पटक रोपाइँ गरिएको छ। अमरगढी नगरपालिका वडा नं. ६ को दुमडा गाउँमा सिँचाइ पुगेपछि पहिलोपटक रोपाइँ गरिएको हो ।

गाउँमा पहिलो पटक रोपाई गर्न पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । २०७० सालदेखि सुरु भएको सिचाइँको काम यस वर्ष पूरा भएको हो। झण्डै आठ किलोमिटर ठाँढाबाट पानी गाउँमा पु¥याई रोपाइँ गरिएको वडाअध्यक्ष गोविन्दराज भट्टले जानकारी दिए।

गाउँभन्दा धेरै तल खोला किनारमा दुमडा गाउँका केही परिवारका खेत थिए। पछिल्ला वर्षहरुमा जंगली जनावर बँदेल, रतुवाले धानबाली नष्ट गर्न थालेपछि भएका खेत पनि बाँझै रहेको उनले बताए।

खोलाको पानी वडा नं. ७ को खानेपानी र सिँचाइमा प्रयोग भएसंगै बैशाख, जेठ महिनामा आफ्ना खेतसम्म पानी नै नपुग्ने समस्या थियो। उनले भने, ‘अहिले अलग्गै मुल वडा नं. ६ कै तोलीबाट सिँचाइको पानी गाउँमा पुगेपछि घर वरपर रहेका बारीमा सबै गाउँलेहरुले रोपाइँगरि रहेका छन्।’

स्थानीय निकै हर्षित
यस वर्ष मात्रै गाउँमा पानि पुगेकाले रोपाइँ गर्न नपाएका गाउँलेहरु सबैले धमाधम रोपाइँ गर्न थालेका छन्।

बिहे गरी दुमडा गाउँमा आएको ४० वर्ष बढि भएपनि रोपाइँ गर्न नपाएको स्थानीय हरुदेवि भट्टले बताइन्। दुमडा गाउँमा पहिलो पटक रोपाइँ गर्न पाउँदा निकै खुशी भएको उनले सुनाइन्।

धान राम्रो फल्ने आश !
पानी पुगेपछि घरको माथिल्लो गाह्रामा रोपाइँ गर्न लागेकाले निकै रमाइलो महसुस भइरहेको बताउँदै स्थानीय राधिका भट्टले भनिन्, ‘अब देखि खेतको मसिनो चामलको भात खान पाईने भयो । यो बर्ष परीक्षणका रुपमा रोपाइँ गर्न लागेका छौँ। गाउँमा पानी पुगेको छ। धान राम्रो फल्ने आश छ।’

दुमडा गाउँमा तरकारी उत्पादन पनि गरिँदै आएको छ। दुई हजार रोपनीमा सिँचाइ गर्न २०७० सालमा अमरगढी नगरपालिकाबाट एक लाख रकम विनियोजन भएपछि काम सुरु भएको दुमडा सिचाई जल उपभोक्ता समिति अध्यक्ष कालीप्रसाद भट्टले बताए।

सिँचाइ कार्यालय डडेल्धुराबाट पनि २०७० सालमा नै १५ लाख र त्यसपछि १० लाख आएको उनले जानकारी दिए। क्रमागत रुपमा सुरुवात गरिएको सिँचाइ योजनाको ४२ लाखको टेण्डरमा पनि काम गरिएको अध्यक्ष भट्टको भनाइ छ।

चालु आर्थिक वर्षमा अमरगढी नगरपालिकाको दुई लाख बजेट र हालसम्म गरी स्थानीयले २० लाख बराबरको श्रमदान गरी सिँचाइ योजना सम्पन्न भएको हो।

‘अहिले एउटा ९ मिटर चौडाइ र १३ मिटर लम्बाइ भएको करिब डेढ लाख लिटर क्षमताको टंकी बनाई ३७ धाराबाट गाउँका बारीमा पानी वितरण गरिएको छ,’ उनले भने। सिचाइँका लागि ६ मिटर चौडाइ र ९ मिटर लम्बाइ भएका पाँचवटा ट्यांकीबाट पनि पानी वितरण गरिरहेको उनले बताए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।