सुदूरखबर डटकम

बाजुरामा आमाछोरीको ज्यान लिने गरी यसरी गएको थियो पहिरो (फोटोफिचर)

label मदन विक query_builder August, 02 2019

बाजुरा, साउन १७ । बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोल शोकमा डुवेको छ । गएराति परेको अविरल वर्षाका कारण शान्ति टोल माथिबाट आएको पहिरोमा पुरिएर २६ वर्षीया निरुता चदारा र उनकी छोरी ६ वर्षिया नावालिका किस्मिताको मृत्यु भएको छ ।

बिहीबार राति करिव २ बजेको समयमा आमा–छोरी घरमा सुतिरहेको बेला एक्कासी घरमाथिबाट आएको पहिरोले आमाछोरी दुबैको ज्यान गयो । निरुता चदाराका श्रीमान भीम चदारा रोजगारको शिलसिलामा भारतमा छन् ।

पहिरोमै परेर १०५ वर्षीय जंग चदारा गम्भीर घाइते भएका छन् । त्यस्तै सोही परिवारका सुके चदाराकी श्रीमती जडेनी चदाँरा, छोरी १२ वर्षीय अस्मिता चदारा, छोरा १० बर्षिया विकाश चदारा, सामान्य घाइते भएका छन् ।

मृतकको पोष्टमार्टम गौमुलमा
गएराति पहिरोमा परेर मृत्यु भएकी आमा छोरी दुबैको पोष्टमार्टम गौमुल गाउँपालिकाको शहरी स्वास्थ्य केन्द्रमै हुने भएको छ । घटनास्थलबाट जिल्ला अस्पताल करिव ६ घन्टाको पैदल दुरीमा पर्दछ ।

मृतकहरुको पोष्टमाटम गर्नका लागि जिल्ला अस्पतालमा ल्याउन नसकिने भएपछि गौमुलमै पोष्टमाटम गर्नका लागि जिल्ला अस्पतालबाट डाक्टर टिका राईको नेतृत्वमा स्वास्थ्यर्कीहरुको टोली गौमुलमा गएको छ ।

गम्भीर घाइतेको उपचार मार्तडीमा
पहिरोमा परेर शक्त घाइते भएका १०५ वर्षीय जंग चदाराको उपचार जिल्ला अस्पताल मार्तडीमा भइरहेको छ । पहिरोमा परेर चदाराको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ ।

पहिरो पीडितलाई राहत
विहिबार राति घर माथिबाट खसेको पहिरोमा परेर विस्थापित बनेका परिवारलाई गौमुल गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले राहत स्वरुप त्रिपाल, भाडाकुडा र खाद्यन्न सामग्री उपलव्ध गराएको छ ।

शान्तिटोल बस्ती पुरै पहिरोको उच्च जोखिममा
गौमुल गाउँपािलकाको वडा नं. ६ शान्तिटोल अहिले पहिरोको उच्च जोखिम्मा परेको छ । वर्षातको समयमा निरन्तर अविरल वर्षा हुन थालेपछि टोलका स्थानीयहरुलाई रात बिताउन समस्या हुन थालेको छ । घरमाथिबाट भिरालो जमिन भएकै प्रत्येक वर्ष वर्षातको सयमा टोलका सवै घरहरु उच्च जोखिम्मा पर्दै आएका छन् ।

सरोकारवाला निकायको व्यवास्ता
प्रत्येक वर्षको वर्षातको समयमा बस्ती जोखिम्मा पर्दै आएपछि बस्तीका स्थानीयहरुले गाउँपालिकालाई बस्ती स्थानान्तरण गरिदिन आग्रह गरेको भएपनि गाउँपालिकाले कुनै चासो नदेखाएको स्थानीयबासीले गुनासो गरेका छन् ।

गौमुल गाउँपालिकाको पहल
गौमुल गाउँपालिकाले उक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि विभिन्न पहल गरेको भएपनि अहिलेसम्म सुरक्षित स्थान नभेटाएकोले बस्तीलाई सार्न ढिलाई भइरहेको बताउँदै आएको छ ।

   

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...