सुदूरखबर डटकम

बझाङमा सेना र स्वास्थ्यकर्मी बचाउँछन् ‘रगत दिएर’ सुत्केरीकोे ज्यान

label डीबी विष्ट query_builder August, 03 2019

बझाङ, साउन १८ । बैशाख ४ गते बझाङ तल्कोट गाउँपालिका–७ की १८ वर्षीया पुजा विष्ट नजिकै रहेको धमेना स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगिन्। स्वास्थ्य चौकीमा बच्चा जन्माउन त सफल भइन् तर साल अड्किएपछि निकै समस्या भयो। उनलाई त्यहाँबाट जिल्ला अस्पतालमा रिफर गरियो।

उनका आफन्तहरुले हताहतारमा जिल्ला अस्पतामा पुर्याएँ। जिल्ला अस्पतालमा पुर्याउनसम्म उनको शरिरबाट धेरैै रगत बगी सकेको थियो। अत्याधिक रक्तश्रापका कारण उनको ज्यान नै खतरामा थियो। डाक्टरले ओ पोजेटीभ रगत तत्कालै खोज्न आग्रह गरे। सामान्यतया मानिसमा १२ देखि १८ पिन्ट रगतको आवश्यक हुन्छ तर विष्टको शरिरमा जम्मा ४ पिन्ट रगत मात्र बाँकी थियो। स्वास्थ्यकर्मीले विष्टका ससुरा गोर्या विष्टलाई रगत खोज्न आग्रह गरे। उनी अलमलमा परे।

उनले आफन्त सबै चिनाजानी भएकाहरु संग ओ पोजेटीभ रगतको माग गर्दै आफ्नो बुहारीको ज्यान बाचइदिन आग्रह गरे। तर रगत दिने मान्छे नै भेट्टाउन सकेनन्। उनी निराश भएर डाक्टर कहाँ पुगे र आफूले रगत खोज्दा खोन्दै हैरान भएको र कतै पनि रगत भेटाउन नसकको कुरा डाक्टरलाई सुनाए।

अरु विकल्प नलागेपछि जिल्ला अस्पतालका कार्यालय प्रमुख सन्दिप ओखेडाले सग्राम सार्दुल गुल्म पानकोटका ब्यारेकका तत्कालीन सेनानी केदार प्रसाद लामिछानेलाई उक्त समस्याबारे बताए। तत्कालै सेनानी लामिछानेले (३ जना) ज्ञानबहादुर तामाङ, भुवनसिंह घर्तिमगर र सागर जप्रेललाई अस्पतालमा पठाइदिए र विष्टलाई आवश्यक रगत दिएर उनको ज्यान बच्यो।

यस्तै साउन ५ गते मात्रै जयपृथ्वी नगरपालिका–११ डाँडागाँउकी २१ वर्षीय गीता जोशी सुत्केरी हुन जिल्ला अस्पतालमा पुगिन्। उनको समेत साल अड्किएपछि लगातार रत्तश्राव भइरह्यो शरिरमा रगत आवश्यक परे पछि स्वास्थ्यकर्मीहरुले उनका आफन्तहरुलाई रगत खोज्न आग्रह गरे।

उनका श्रीमान गजेन्द्रले रगत खोज्दै ठाँउ–ठाँउ आफ्ना आफन्तहरुसंग सम्पर्क गरे। रगत नपाइएपछि जोशी निराशाजनक भए। उनले आफ्नो श्रीमतीको ज्यान जाने भयो भन्दै निराश हुँदै अस्पतालसम्म पुगे। धन्न जिल्ला अस्पतालमा नै कार्यरत प्रहरी हवल्दार महेन्द्रबहादुर बम्मको रगत मिल्यो र उनले रगत दिएर मेरो श्रीमतीको ज्यान बचाएँ। जोशीले भने–‘मैले त आशा नै मारीसकेको थिएँ। आफ्ना आफन्तहरु सबैलाई रगत खोजी दिन भन्दा भन्दै ३÷४ घण्टा बिती सक्दासमेत रगत नपाइने अवस्था थियो। त्यती बेला नै अस्पतालभित्रै कार्यरत प्रहरी हवल्दारले रगत नदिएको भए जे पनि हुन सक्थ्यो। बाहिर लिन सक्ने अवस्था हाम्रो थिएन।’

जिल्ला अस्पतालमा कार्यरत नारायणप्रसाद जोशी समेत सुत्केरी भएर अत्याधिक रक्तश्राव भएका महिलाहरु र बाहिरी एभर्सन गराएर रक्तश्राव भएर आएका ५ जना महिलाहरुको ज्यान आफूले रगत दिएर बचाएको बताउँछन् । उनले सुत्केरी महिलासहित अन्य गरेर ८ जनालाई रगत दिइसकेका छन्। उनी जस्तै जिल्ला अस्पतालमा नै कार्यरत शान्ति अवस्थीले समेत बालकसहित महिला गरेर ४ जनालाई रगत दिएर ज्यान बचाएको बताइन्।

०७६ साल बैशाख ६ गते डडेलीभरीका क्रममा अत्याधिक रक्त श्राप भइमरण जीवनको दोसादमा परेकी खप्तड छान्ना गाँउपालिका–१ की हरिनादेवि पाण्डेलाई ए वि पोजेटीभ रगतको आवश्क पर्यो। उनका आफन्तले चारै तिर रगतको खोजी गरे तर रगतको गु्रप कसै संग मिल खाएन। अनन्त जिल्ला अस्पतालका कार्यालय कार्यलय प्रमुखले नै सग्राम सार्दुल गुल्म पानकोट ब्यारेकमा फोन गरे र नेपाली सेनाका दिनेश भट्ट र धर्मेन्द्रसिंह बोहराले रगत दिए र पाण्डेको ज्यान जोगियो।

उनी जस्ता धेरै सुत्केरी महिलाको ज्यान नेपाली सेना र जिल्ला अस्पतालका कर्मचारीका साथै केही प्रहरीहरुले बचाएका छन्। नेपाल आर्मीले २०७३ सालमा १० जना, २०७४ मा ४ जना, २०७५ मा ९ र २०७६ को हालसम्म ९ जना गरि ३२ जना सुत्केरी महिलाहरुको ज्यान बचाएको सग्राम सार्दुल गुल्म पानकोट ब्यारेकको तथ्याङ्कमा उल्लेख छ।

जिल्ला अस्पताको तथ्याङ्क हेर्दा २०७५ साउनदेखि हालसम्म ३० जना सुत्केरी महिलाहरुलाई रगत चढाएइको छ । अहिलेसम्म खोजी गरेर नै रगत उपलब्ध गराउने गरेको जिल्ला अस्पताका कार्यालय प्रमुख सन्दिप ओखेडाले बताए। बझाङ जिल्ला जस्तो विकट ठाँउ मा केही ठुलो महामारी तथा दैविक प्रकोपको घटना घटेको खण्डमा निकै समस्या उत्पन्न हुने उनले बताए ।

‘एक पेन्ट रगत आवश्यक परेको खण्डमा चारपाँच घण्टाभन्दा बढी बिरामीले कुर्न पर्ने हुन्छ । अहिलेसम्म त धेरै जस्तो नेपाली सेनाबाट नै हामीले सहयोग पाइराखेका छौं र धेरैको ज्यान समेत बचेको छ ।’ उनले सुनाए ।

जिल्लामा कुनै दैविक प्रकोप वा केही घटना घट्ने हो भने रगत अभावमा धेरैले ज्यान गुमाउन सक्ने उनको भनाइ छ। यसका लागि सरोकारवाल निकाएकाले ध्यान समयमा नै दिन पर्ने र समयमा नै जिल्लामा ब्लड बैङ्क संचालनमा ल्याउन आवश्यक रहेको उनको बुझाइ छ।

केही समयअघि मात्रै जिल्लामा नै एक महिलालाई जिल्ला अस्पतालका कर्मचारी लगायतहरु मिलेर ११ पोका रगत चढाएको बताउँदै डाक्टर ओखेडाले जिल्ला अस्पतालमा नै ब्लोड बैंक संचालनमा ल्याउन र यसका सरोकारवाला निकायले आवस्यक पहल गर्न जरुरी रहेको बताए। अहिलेसम्म हेर्दा नेपाली सेना र स्वास्थ्यकर्मीहरुले रगत दिएर सुत्केरी महिलाहरुको ज्यान बाँचेको उनले सुनाए।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...