सुदूरखबर डटकम

आलु खेतीमा आकर्षित हुँदै बझाङका किसान, वार्षिक एक लाख कमाइ

label डीबी विष्ट query_builder September, 04 2019

बझाङ, भदौ १८ । ‘आम्दानीको अरु स्रोत छैन शरिर ढाक्न र पेटमा अन्नको रस दिने भनेकै यहिँ आलु हो। आलु बिना हाम्रो जीवन चल्दैन ।’ यो भनाइ हो खप्तड छान्ना गाउँपालिका–७ गोरखालीकी ६३ वर्षीया कल्पना सिहंको ।

‘श्रीमानको २७ वर्षको उमेरमा मृत्युभयो । गाउँमा धान, गहुँ र अन्य अन्न राम्रो संग फल्दैन । आलु नै हाम्रो मुख्य खेती हो । पहिले पहिले आलु संग अन्न साँटेर औल (बेसि) बाट भारि बोक्दै जीविका चलाउँदै आएका थियौँ ।’ सिहँले भनिन्–‘अहिले गाउँ नजिकै गाडी पुगेकाले चैनपुर, तमैल, पसल बगरलगायतका बजारमा लगेर नगदमा आलु बिक्रि गरेर चामल र गहुँ खरिद गरि ल्याउने गरेका छौँ । पहिला एक छाक भात खान समेत चाड पर्व पर्खेर बस्नु पथ्र्यो अहिले आलु बिक्रि हुन थालेपछि दैनिक भात खान थालेका छौँ ।’

‘गाउँमा खाद्यन नफल्ने भएकाले सबैले हामीलाई अपहेलना गर्नुका साथै डोकोमा राखेर घर घर पुगाएर आलु चाहियो भन्नेर बिक्रि गर्ने भएकाले हामीले मागेको मूल्यभन्दा उनीहरुले भनेको मुल्यमा हामीले चित्त बुझाएर आलु बिक्रि गनु पर्न बाध्यता थियो ।’ जय पृथ्वी नगरपालिका–११ सुइलमा जयधन धामीले भने, ‘तर अहिले बजारमा आलु बिक्री हुने भएकाले हामीहरुलाई निकै सहज पनि भएको छ र आम्दानीको श्रोत पनि बनेको छ ।’ फाँपर, मैक र मार्सया(बेथे) लगाउने जग्गामा समेत अहिले आलु लगाउन थालेको उनले सुनाए ।

‘आलु कोल्ड स्टोर गर्न पाएहुन्थो । सिजनमा त्यति सारो राम्रो मुल्य पाइँदैन । केजिको १५ देखि २० रुपैया हुन्छ । हिउँदमाप्रति केजी होल सेलमा समेत ३५ देखि ४० रुपैयाँमा बिक्रि हुन्छन् ।’ उनले भने, ‘रसायनिक मल कसैले प्रयोग गदैन । सबैले गोठेमल नै प्रयोग गने भएकाले जिल्लामा अहिले अर्गानीक आलु भनेर माग निकै बढेको छ ।’

वर्षमा गाउँमै १ लाखभन्दा बढीको आलु बिक्रि
वर्षमा गाउँमै १ लाखभन्दा बढीको आलु बिक्रि गर्ने उनले बताए । ‘जमीन कम छ । माग बढि भएकाले कहाँबाट पूर्ति गर्ने पहिले जस्तो जंगल काट्न पाइँदैन । गाउँ भरिका ६७ परिवार अहिले सबै आलु खेतीमा लागेका छन् ।’ उनले भने,‘यहाँ स्थानीयको अर्को मूख्य पेशा भनेको यार्सा संकलन पनि हो । यार्सागुम्बा खोज्न लेकमा जानुपर्छ । कहिले पाइने कहिले नपाइने हुन्छ । आलु खेतमा एक पटक लगाएपछि ५ महिनासम्म गोडमेल गरे पछि ढुक्क भइन्छ । सानो तिनो भएपनि आम्दानी भइरहेको छ ।’

जिल्लाको सुइल मयना, गुरेना, बिछाडा, गोरखाली, सैनगाउँ, लेकगाउ, बुडखोली, धलौन, काँडा बोरगाउँ, बुडासिमलगायतका विभिन्न लेकाली भेगमा खाद्यन निकै कम फल्ने र आलु राम्रो उत्पादन हुने भएकाले यहाँका अधिकांश कृषकले आलु खेतीबाटै आत्मानिर्भर बन्न थालेका छन् । पहिले कृषि कार्यालयले प्राविधि सहयोगसहित कृषकलाई सघाएको भएपनि पछिलो समयमा हेरक गाउँपालिका र नगरपालिकामा सबै अधिकार प्राप्त भएकाले कुन गाउँपालिका र नगरपालिकाले कृषकको सहयोगमा के कस्ता काम गरेको छ यसबारे जानकारी लिन नसकिएको जिल्ला ज्ञान कुन्जका प्राविधि रामलाल जोशीले बताए ।

‘पहिले कृषि विकास कार्यालयबाट सुईल मयान, फल्टाना,गोरखालीमा कोल्डस्टोर गर्न ५० हजार देखि १ लाखसम्म र्खच गरेर १३ वटा कोल्डस्टोर निमार्ण गरेको भए पनि अहिले सबै संरक्षणमा नहुदा भत्यको भन्ने बुझिएको छ ।’ उनले भने, ‘आलु लेक औल तराई हिमालमा हुने खेती हो । कति मेट्रिक टन फल्छ यसै भन्न सकिने अवस्था छैन । हजारौ मेट्रिक टन सुइल मयानामा मात्र फल्न सक्छ ।’

राज्यले अहिले हरेक स्थानीय तहमा सिंह दरबारको अधिकार जनतालाई दिएको छ भनेर भने पनि गाउँपालिका र नगरपालिकामा आएको बजेट स्थानिय कृषकको हित र कृषि उत्पादनमा नभई जनप्रतिनिधि र उनका आसेपासे संगै कर्मचारीले काम नगरि सकाउने गरेको नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिहंले बताए ।

उनले भने, ‘अहिले हरेक स्थानीय तहमा कमाउ अभियान संचालन भएको छ । जसको पहुँच उसको धन हुँदा स्थानीय कृषक आलु खेतीमा आर्कषण भएपनि जनप्रतिनिधिबाट ठगिएका छन् ।’

तपाईंको प्रतिक्रिया दिनुस्