सुदूरखबर डटकम

आधुनिक घरमा बस्न थाले बझाङका ‘बादी समुदाय’

label डीबी विष्ट query_builder September, 05 2019

बझाङ, भदौ १९ । स–साना टिनका झुपडी। पानी पर्ना साथ ओत लाग्न समेत ठाँउ नहुने। जताततै फोहोर। पुस्तौदेखि सेती नदी र बाहुली खोलाको दूषित पानी पिउने गरेका। बिहान बेलुका एक छाक को जोहो गर्न समेत नाचगान गरेर खानु पर्ने बाध्यता। यो सबै अवस्था समस्या अभाव हो, सदरमुकाम चैनपुरमा रहेका बादी समुदायको। अहिले बादी समुदायले धेरै कुराको मुक्ति पाएका छन्।

पक्की घरमा बस्ने कल्पन सम्म नगरेका बादी समुदायका अहिले पक्की पक्की घरहरु रंगिएका छन् । सफा चर्पी बाथरुम र खानेपानीका धारा अलग अलग छन् । कार्पेट खटिया ओच्छ्याइएका कोठाहरुमा ग्यास चुल्ला र पंखाहरु छन् ।

आगन सफा चिटिक्क सहित उज्यालोले बस्ती झलमल्ल छ । सदमुकाम चैनपुर बादीटोलकी राधा बादीले भन्नुभयो “हाम्रा दुःखका दिन गएको भना हामीलाई भएको छ ।

सरकारको जनता आवास कार्यक्रम बाट घर निर्माण गरेपनि अन्य ब्यवस्था जयपृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर बिष्टले गरि दिएपछि बादी समुदायको मुक्तिको ढोका खुलेको बताए । अहिले दुई पक्की भवनका १६ कोठामा ८ परिवार बस्दै आएका छन् । साथै बाँकी रहेका चार परिवारका लागि यस वर्ष आठ कोठाको पक्की घर निर्माण हुने भएको छ ।

जनता आवासबाट निर्माण भएका घरमा बादीहरु बस्न थालेपछि बादीहरुको घरभित्र ओड्ने ओच्छयाउने खटिया, ग्यास चुलो र पानीको धारा नभएपछि वडा अध्यक्ष दलबहादुर बिष्टले आफ्नै लगानीमा चैनपुरका १२ बादी परिवारका लागि सामग्री सहयोग गरेपछि बादीहरुको आवासमा ब्यवस्थित बनेको हो ।

घर निर्माणका लागि नेपाल सरकारको जनता आवास कार्यक्रमअन्र्तगत १८ लाख ३६ हजार रकम उपलब्ध भएको थियो । वडा अध्यक्ष दलबहादुर बिष्टले जनता आवासको रकमले सामान्य घर बन्ने भएका थप आफ्नो व्यक्तगत लगानी १३ लाख ३२ हजार लगाएर अन्य ब्यवस्था गरेको बताए ।

आफू उम्मेदवार भएपछि जिल्लाको सबैभन्दा विपन्न गरिव बादी समुदायको मुक्तिका लागि पहल गर्ने बताउँदै आएका वडा अध्यक्ष बिष्टले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी चैनपुरका बादीहरुलाई खाद्यान्नलगायत ओड्ने, ओच्छ्याउने, खटिया, ग्यास चुलो हस्तान्तरण गरेका हुन् ।

उनले बादीहरुको दशैं खर्चका लागी भनेर नगद २० हजार र अन्य बादी टोलसँगै जोडिएका अन्य सुनार जातीका चार वटा गरिव परिवारलाई पनि तीन हजारका दरले दशैं खर्चसहित सिरक, डस्ना वितरण गरेका छन् । जनता आवास कार्यक्रमको बादीको घर निर्माण गर्ने जिम्मा आफैले लिएका वडा अध्यक्ष बिष्टले सरकारको अनुदान रकममा आफूले पनि थपेर बादीका पक्की पिल्लरवाला र व्यवस्थित घर निर्माण गरिदिएका छन् ।

बादीको मुक्तिका लागी वडा अध्यक्षको पहल देखेर बादी बस्तीमा खानेपानीको समस्या देख्दा तत्कालिन प्रमुख जिल्ला अधिकार सुरेश सुनारले ३ क्वाइल पाइप सहयोग गरेपछि वडा अध्यक्ष बिष्टले आफ्नो घरमा भएको नीजि पानीको धाराबाट बादी बस्तीमा निःशुल्क रुपमा चौबिसैं घण्टा पानी आउने गरी धारा जोडी दिएका छन् ।

पानीको धारा विष्टले आफ्ना बुवा लालबहादुर विष्टबाट उद्घाटन गर्न लगाएका थिए । दिसा पिसाब बगेको सेती नदी र बाउली खोलाको पानी पिउदै आएका बादी समुदाय अब धाराबाट बग्ने सफा पानी पिउन पाएपछि दंग भएका छन् ।

‘सेती नदी र बाउली खोलाको धमीलो दिसा पिसाब बगेको पशुचौपया मरेको बगेको देख्दा देख्दै हामीहरुले त्यही पानी पिउँदै आएका थियौ ।’ प्रमीला बादीले भनिन्–‘अब हामीले सफा पानी पिउन पाउनेभयाँै ।’

फोहोर पानीका कारण आफूहरुलाई दिनहुँ जसो पखाला, आँउ हैजा, रुघाखोजी जस्ता रोगको सिकार हुनु परेको थियो उक्त समस्याबाट समेत आफूहरु छुटकारा पाउने उनले बताइन् । पानीका लागि पहल गरिदिने वडाअध्यक्षका साथै तत्कालिन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई समेत उनले धन्यवाद ब्यक्त गरे ।

वडा अध्यक्ष बिष्टले बादीहरुलाई निःशुल्क सरसामान हस्तान्तरण गर्ने कार्य परोपकारी काम भएको बताउँदै सहाय प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले यस्ता गरिवहरुलाई हुने खाने मानिसहरुबाट सहयोग भएमा गरिवी घट्दै जाने विश्वास ब्यक्त गरे ।

बादीहरुलाई सुझाव दिँदै सहायक प्रमुख जिल्ला अधिकारीले भने, ‘तपाईँहरुको काम गरेर खानु पर्छ । अब आफैले श्रम गरेर खाने बानी बसाल्नुपर्छ अरुले दिएर मात्र जीवन चल्दैन ।’ उनले सरकारी तथा गैरसरकारी निकायले बादी समुदायलाई स्वरोजगार कार्यक्रम लागू गर्नु पर्ने कुरामा जोड दिए ।

सहायक प्रजिअ सार्कीले बादी बस्तीमा सामान हस्त्रान्तण कार्यक्रममा सहभागी भएका कार्यलय प्रमुख र जनप्रतिनिधिहरुले वडा अध्यक्ष बिष्टले गरेको कामप्रति प्रशंसा गरेका थिए । बझाङ्गी राजाहरुको साथमा भारतको पिथौलीगडबाट आएका चैनपुरका बादीहरुको घर लगाएको ३० वर्गमिर जमिन बाहेक अरु कुनै सम्पति समेत छैन् । सदरमुकाम चैनपुरमा १७ परिवार बादी बस्दै आएका छन् ।

    

तपाईंको प्रतिक्रिया दिनुस्